Monday, March 24, 2014

स्वस्थताका लागि कम चिनी

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को नयाँ निर्देशिकामा मानिसहरूलाई आफ्नो खानामा समावेश चिनीको परिमाणमा ५० प्रतिशतले कटौती गर्ने सल्लाह दिइएको छ।डब्ल्यूएचओले दैनिक सेवन गरिने कुल क्यालोरीमा चिनीको परिमाण १० प्रतिशतभन्दा कम गर्न अझ त्यसलाई ५ प्रतिशतमा पुर्याउने लक्ष्य राख्न भनेको छ।चिनी मिसाइएका सम्पूर्ण खाद्य परिकार र प्राकृतिक रूपमै चिनी पाइने मह, सिरप तथा फलफूलका जुस सेवन गर्दा पनि यस सल्लाहलाई ध्यानमा राख्न बताइएको छ।

बेलायतका आहारसम्बन्धी अभियन्ताहरूले आफ्नो सल्लाह परिवर्तन गर्न डब्ल्यूएचओले १० वर्ष लामो समय लगाउनु दुःखदायी भएको बताएका छन्। सन् २००२ मा नै दैनिक आहारको कुल क्यालोरीको १० प्रतिशतभन्दा बढी चिनी खान नहुने परामर्शलाई डब्ल्यूएचओले अनुमोदित गरेको थियो।सामान्य शारीरिक वजन भएका वयस्क व्यक्तिलाई दिनहुँ करिब ५० ग्राम चिनी भए पुग्ने बताइएको छ। थुप्रै विशेषज्ञहरूले विश्वमा मानिसहरूमा मोटोपन बढिरहेको वर्तमान स्थितिमा १० प्रतिशत चिनी पनि धेरै भएको बताउँछन्। डब्ल्यूएचओका पोषण निर्देशक डा. फ्रान्सेस्को ब्रान्काले बेलायतका बालबालिकाहरूले सन्तुलित भोजनमा निर्देशित गरिएभन्दा बढी गुलियो पदार्थ खाने गरेको बताएका छन्।

विशेष गरी दुईवटा भोजनको बीचमा गुलियो खाना वा पेय पदार्थ लिनाले दाँत सड्ने समस्या पनि आउने गर्दछ। बेलायतको प्रमुख चिकित्सा अधिकारी डेम स्याल्ली डेभिसले त्यहाँका विधायकहरूलाई चिनी सेवनलाई निरुत्साहित पार्न चिनीमाथिको कर बढाउनुपर्ने सल्लाह दिएका छन्।



No comments:

Post a Comment