Saturday, March 29, 2014

घाँटी दुख्ने समस्या

           मुखको पछाडिपट्टिको भागलाई फ्यारेङस भनिन्छ । फ्यारेङसमा हुने संक्रमणलाई नै फ्यारेन्जाइटिस भनिन्छ । फ्यारेन्जाइटिस हुने प्रमुख कारण नै संक्रमण हो । कहिलकाही संक्रमणविना पनि फ्यारेन्जाइटिस हुन सक्छ । घाँटी दुख्नुमा ४० देखि ६० प्रतिशत भाइरसको संक्रमणका कारण हुन्छ भने ५ देखि ३० प्रतिशत व्याक्टेरियाको संक्रमण र बाँकी ३० प्रतिशत अन्य कारणले हुन्छ । फ्यारेन्जाइटिसले विशेषगरी जाडो समयमा केटाकेटीमा बढी संक्रमण भएको पाइन्छ ।

            संक्रमण हुँदा र संक्रमणविनाको घाँटी दुखाईको लक्षण एउटै हुन्छ । बच्चामा हाच्छ्युँ आउने, नाकबाट सिँगान बग्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने, शरीर दुख्ने गरेमा संक्रमणको कारणले हुन्छ । व्याक्टेरियाको संक्रमण हुँदा ज्वरो आउने, शरीर दुख्ने, शरीर काँप्ने, निल्दा धेरै दुख्ने हुन्छ भने फंगसका कारण घाँटीमा लेग्रो बसेको हुन्छ ।

            संक्रमणका कारणले घाँटी दुखेको हो भने आत्तिनु पर्दैन । ४८ घण्टापछि लक्षण कम भएर जान्छ । यस्तोमा उपचार भन्दापनि बच्चालाई आरामको जरुरत आवश्यक पर्छ । यतिगर्दा पनि ज्वरो बढ्ने, निल्न नसक्न, धेरै काँप्ने अवस्था आएमा तुरुन्तै चिकित्सककहाँ लानुपर्छ । उपचारका क्रममा ब्याक्टेरियाका कारणले घाँटी दुखेको हो कि होइन भन्ने छुट्टयाउनका लागि प्याथोलोजिकल परीक्षण गर्नुपर्ने हन्छ । ब्याक्टेरियाबाट हुने फ्यारेन्जाइटिस  वेटा हेमोलाइटिकस स्टेप्टोकोकाई भन्ने ब्याक्टेरियाबाट हुन्छ । यो केटाकेटीका लागि हानिकारक मानिन्छ । ल्याब परीक्षण पछि एन्टीबायोटिक दिएर यसको असर कम गरिन्छ ।

             फ्यारेन्जाइटिसबाट बच्चालाई बचाउन घरमा कसैलाई घाँटी दुख्ने समस्या देखिएको छ भने बच्चालाई सँगै नराख्ने, बच्चाको अगाडि हाच्छ्यँु नगर्ने, नखोक्ने, त्यस्ता व्यक्तिले प्रयोग गरेका सामान बच्चालाई प्रयोग गर्र्न नदिने, धेरै ओसिलो स्थानमा बच्चालाई नराख्ने, स्कुलहरुमा धेरै बच्चा हुनेहुँदा हावा आवतजावत हुने कोठा बनाउने गरेमा यसबाट बच्चालाई बचाउन सकिन्छ । यदि बच्चालाई फ्यारेन्जाइटिस भैहालेमा न्यानो पारी राख्ने, घाँटी दुखाई कम गर्न प्यारासिटामोल दिने, ४८ घण्टासम्म पनि ज्वरो आइरहेमा तुरुन्तै चिकित्सककहाँँ लैजाने गर्नुपर्छ । ताकि बच्चालाई र्युम्याटिक फिभर नहोस् । यदि र्युम्याटिक फिभर भएमा बच्चालाई लामो समयसम्म  पेनिसिलिन इन्जेक्सन लगाउनुपर्ने हुन्छ ।

No comments:

Post a Comment